१२ पुस,

काठमाडौँ : नेपाली कांग्रेसले पार्टी हितविपरीत गतिविधिमा संलग्न भई कारबाहीमा परेका नेता तथा कार्यकर्तालाई मिनाहा दिँदै क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गर्ने र क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि वर्तमान विकसित राजनीतिक अवस्था तथा आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुसङ्गठित बनाउने, बृहत् एकता कायम गर्ने र संविधान तथा संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्ने राष्ट्रिय दायित्वलाई आत्मसाथ गर्दै उक्त निर्णय लिइएको हो।

विज्ञप्तिअनुसार विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार बनेका, तिनका प्रस्तावक–समर्थक तथा असहयोग गरी अनुशासन उल्लङ्घन गरेका व्यक्तिमाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन तथा पार्टी विधानअनुसार स्वतः लागेका कारबाहीको बाँकी अवधि माफी/मिनाहा गरिएको छ।

बैठकले यसअघि विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य पार्टीमा गई उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पुनः कांग्रेसमा फर्किन आह्वान गरेको छ। फर्किने व्यक्तिलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरिएको छ।

यसैगरी विभिन्न पेसा, व्यवसाय तथा विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिलाई कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ। वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र मुलुकको हितका लागि बौद्धिक तथा व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय पनि गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए।

बैठकले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ११० उम्मेदवार चयनको मापदण्ड तयार गरी नाम चयन प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ।

केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख