काठमाडौं, फागुन ७ – पूर्वराजा ज्ञानेन्द्र शाहले आज फागुन ७ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा राख्न आग्रह गरेका छन्।

सन्देशमा उनले प्रजातन्त्र स्थापनाका लागि योगदान दिने आफ्ना जिज्यू बुबा राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै श्रद्धासुमन अर्पण गरेका छन्। साथै, प्रजातन्त्रका लागि बलिदान दिने ज्ञात-अज्ञात शहीदहरू र यस प्रणालीलाई सबल बनाउन लागिपरेका सबैप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

“प्रजातन्त्र केवल विवाद र द्वन्द्वको विषय होइन”

पूर्वराजाले प्रजातन्त्रलाई केवल विवाद, द्वन्द्व वा विरोध-प्रतिरोधको रूपमा मात्र हेर्न नहुने उल्लेख गरेका छन्। उनका अनुसार प्रजातन्त्रले समाजमैत्री र जनहितैषी दृष्टिकोण अँगाल्नुपर्छ। “सुन्दर शब्द र आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुँदैन, कर्म र व्यवहारमा समेत सही प्रजातान्त्रिक आचरण देखिनुपर्छ,” उनले भने।

उनले निषेधको राजनीति, पक्ष-विपक्षबीचको अहंकार तथा हठवादले प्रजातन्त्रलाई बलियो बनाउन नसक्ने बताउँदै, सबैको पहिचान र अस्तित्व सुरक्षित हुनुपर्नेमा जोड दिएका छन्।

“देशको अवस्था दयनीय छ”

सन्देशमा शाहले हाल नेपालमा देखिएको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार इतिहास मेटिँदै गएको छ, राष्ट्रको अस्तित्व खतरामा छ, र युवा जनशक्ति दिनहुँ विदेश पलायन हुँदैछन्। “नेपालका होनहार जनशक्ति आफ्नो माटोमा होइन, अन्तै पसिना बगाइरहेका छन्। जन्मदै नेपालीको शिरमा लाखौँको ऋणभार छ,” उनले उल्लेख गरेका छन्।

साथै, उद्योग, व्यापार र शिक्षाको अवस्था पनि दिन प्रतिदिन खस्किँदै गएको भन्दै उनले नेपालभित्रको नीति तथा प्रणाली असफल बन्दै गएको धारणा राखेका छन्।

“प्रजातन्त्रले आशा जगाउनुपर्छ”

पूर्वराजाले तीन दशकयताको अवस्थाले जनताको विश्वास गुमाएको उल्लेख गर्दै प्रजातन्त्रले जनतामा आशा र भरोसा जगाउनुपर्ने बताएका छन्। “जनताको मुहारमा मुस्कान ल्याउने, सबैलाई सुखी बनाउने व्यवस्था प्रजातन्त्र हुनुपर्छ,” उनले भने।

उनले नेपाल कुनै संकटमा नपरोस् भन्ने आफ्नो परिकल्पना रहेको भन्दै, विगतमा पनि जनताको भलोका लागि आफ्नो ओहदा र सुविधा त्याग गरेको स्मरण गराए। “त्यागले कसैको कद सानो हुँदैन, र यसलाई कमजोरीका रूपमा हेर्नु उचित हुँदैन,” उनले भने।

“राष्ट्र जोगाउन सबै एक हुनुपर्छ”

पूर्वराजाले देशको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकता कायम राख्नुपर्नेमा विशेष जोड दिएका छन्। उनले जनताको साथ र समर्थन आवश्यक रहेको बताउँदै, राष्ट्रको रक्षाका लागि आफ्नो समर्पण र निष्ठा सदैव रहने प्रतिबद्धता व्यक्त गरे।

सन्देशको अन्त्यमा पूर्वराजाले सम्पूर्ण नेपालीलाई राष्ट्रको उन्नतिका लागि एक हुन आग्रह गर्दै, श्री पशुपतिनाथसँग सबैको कल्याणको कामना गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख