
१३ वैशाख,
बारा : बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन्।
उनले २८ हजार ४१४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे। यादव पाँच हजार ८० मतको अन्तरमा विजयी भएका हुन्। तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो भए।

एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताए। त्यसमध्ये ३७ हजार ४९ पुरुष र ३२ हजार ५८ महिलाको मत खसेको थियो।
वैशाख १० गते भएको उपनिर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो। यसअघि मंसिर ४ गते भएको संघीय निर्वाचनमा बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।







