
१८ चैत,
काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेको छ ।
निगमले आफ्नो घाटा कम गर्न पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाउने निर्णय गरेपछि व्यवसायीले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेको हो।
सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलि (शनिबार) देखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।
‘हामीले गर्दा घाटा लागेको होइन। सरकारले हाम्रो कमिसन मूल्य बढेअनुसार बढाउनु पर्छ,’ उनले भने।
सरकारले गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था गरेको थियो। पेट्रोल, डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन पनि बढ्थ्यो, मूल्य घट्दा कमिसन पनि घट्थ्यो।
निगम सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले व्यवसयीले नयाँ मूल्यअनुसारको अतिरिक्त कमिसन नदिने निर्णय गरेको हो। व्यवसायीले डिलर कमिसन फागुन ७ कै मूल्यका आधारमा दिँदै आएको छ।
सरकारले लागू गरेको व्यवस्थाअनुसार आफूहरूले पाउँदै आएको सुविधा जुनसुकै हालतमा पाउन पर्ने उनले बताए । पेट्रोलियम पदार्थको मूल्य घट्दा घटाउने, बढ्दा बढाउने हो भने निगम घाटामा नजाने उनको तर्क छ ।
ग्यास, पेट्रोल तथा ढुवानी व्यवसायीले संयुक्त रूपमा इन्धन ढुवानी भाडा बढाउनु पर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका छन ।






