
२४ बैशाख,
बाँके । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ले बालबालिकालाई जुलुस, प्रदर्शन तथा राजनीतिक गतिविधिमा प्रयोग नगर्न निर्देशन संगै चेतावनी दिएको छ।
बाँकेको कोहलपुरमा सुकुम्बासी आन्दोलनका क्रममा बालबालिकालाई जुलुसमा प्रयोग गरिएको विषय सामाजिक सञ्जालमा देखिएको भन्दै मन्त्रालयले त्यस्ता गतिविधि रोकथाम गर्न तथा प्रचलित कानून बमोजिम आवश्यक कारबाही गर्न निर्देशन दिएको हो।
मन्त्रालयको बाल संरक्षण तथा बाल अधिकार शाखाका उपसचिव दुर्गा प्रसाद चालिसेद्वारा जारी पत्रमा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ उपदफा २ (छ) अनुसार बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्ने, हड्ताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्नु कानूनविपरीत हुने उल्लेख गरिएको छ।
मन्त्रालयले बालअधिकार संरक्षणका लागि यस्ता गतिविधिमा बालबालिकाको संलग्नता रोक्न स्थानीय प्रशासनलाई सतर्क रहन समेत निर्देशन दिएको जनाएको छ।








