
२१ बैशाख,
बाँके — बाँके जिल्लामा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ भने अन्य विभिन्न कसूरमा संलग्न व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–५ फुल्टेक्रा रोडस्थित एक घरमा लागू औषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ६८ ग्राम ८१० मिलिग्राम बरामद गरिएको हो।
प्रहरीले भारत बहराइच रुपैडिया बाबागञ्ज पुरानी बजार बस्ने ३२ वर्षीय मोहम्मद हामीद र २२ वर्षीया सकिना देवीलाई पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट UP40BH4708 नम्बरको TVS RTR मोटरसाइकल र विभिन्न कम्पनीका दुई थान मोबाइल समेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, आपराधिक उपद्रव सम्बन्धी कसूरमा नेपालगञ्ज–२ पुष्पलाल चोकस्थित सगरमाथा होटल अगाडि पार्किङ गरी राखिएको गाडीमा ढुंगा प्रहार गरी सिसा फुटाउने नेपालगञ्ज–४ बस्ने ४१ वर्षीय दोर्ण थापालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
यस्तै, सामाजिक सञ्जाल टिकटकमार्फत हतियार (खुकुरी) प्रदर्शन गर्दै डरत्रास फैलाउने भिडियो पोस्ट गर्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगञ्ज–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल खटिक रहेका छन्। उनीहरूविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले विभिन्न मुद्दामा संलग्न १० जना फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ। उनीहरूलाई आवश्यक कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।








