
१७ बैशाख,
बाँके — नरैनापुर गाउँपालिका ले सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ। गाउँपालिकाले आफ्नो क्षेत्रभित्र अवैध रूपमा कब्जा गरिएका सबै सार्वजनिक जग्गा सम्बन्धित व्यक्तिहरूलाई आफैं हटाएर खाली गर्न आग्रह गरेको हो।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमाद शाहका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्थानीय तह समन्वय शाखा), सिंहदरबार, काठमाडौंको निर्देशनअनुसार शासकीय सुधार कार्यसूची अन्तर्गत सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि यस्तो कदम चालिएको हो।
जारी सूचनामा तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाएमा गाउँपालिकाले स्वयं हटाउने चेतावनी दिएको छ। साथै, संरचना हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाटै सरकारी बाँकीसरह असुल गरिने र कानुनी कारबाहीसमेत गरिने उल्लेख गरिएको छ।
गाउँपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित प्रयोगका लागि सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।









