
२६ चैत्र,
बाँके । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली रिहा भएलगत्तै सरकारप्रति कडा टिप्पणी गरेका छन्। उनले सरकारबाट पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन्।
ओलीले मुद्दा चलाउन पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गर्दै आफ्नो रिहाइका लागि आवाज उठाउने सबै न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल, नेताहरू तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति उनले उच्च सम्मान प्रकट गरेका छन्।
प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल प्रति पनि ओलीले कृतज्ञता व्यक्त गरेका छन्।
यसैबीच, आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्ने क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन्। राज्य उदासीन भए पार्टीले नै खर्च बेहोर्ने बताएका छन्।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै उनले पार्टीका नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।









