
२६ चैत्र,
बाँके — नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक कूटनीतिक नियोगका विदेशी राजदूतहरूसँग सिंहदरबारमा सामूहिक भेटघाट गरेका छन्। उक्त भेटमा सहभागी विदेशी राजदूतहरू आफ्ना–आफ्ना देशको पहिचान झल्किने राष्ट्रिय पोशाकमा उपस्थित भएका थिए।
तर, सो अवसरमा प्रधानमन्त्री शाह भने राष्ट्रिय पोशाकमा नदेखिएको भन्दै आलोचना सुरु भएको छ। यस विषयमा नेकपा एमालेका नेता सूर्य प्रसाद ढकालले आपत्ति जनाएका छन्।
ढकालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले यस्तो महत्वपूर्ण कूटनीतिक भेटमा राष्ट्रिय पहिचान झल्किने पोशाक नलगाउनु सामान्य नभएको बताएका छन्। उनले प्रधानमन्त्रीलाई आफ्नो पहिचान र कूटनीतिक मर्यादा झल्काउने व्यवहार प्रदर्शन गर्नुपर्ने उल्लेख गरेका छन्।
“प्रधानमन्त्रीज्यू अहिले केवल एक कलाकार वा र्यापर मात्र होइन, देशको कार्यकारी प्रमुख हुनुहुन्छ,” ढकालले भने, “त्यसअनुसारको जिम्मेवारी र प्रस्तुति आवश्यक हुन्छ।”
उनले राष्ट्रियता र पहिचानसँग जोडिएका विषयमा संवेदनशील हुन आग्रह गर्दै यस्ता गतिविधिले गलत सन्देश जाने चेतावनी दिएका छन्।









