२ चैत्र,

सुर्खेत । दुई छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापका अनुसार मायाको शव लेकबेशी नगरपालिका–३ पटारोस्थित भेरी नदीमा सोमबार फेला परेको हो।

प्रहरीका अनुसार आइतबारदेखि हराएकी मायाको व्यापक खोजीका क्रममा शव भेटिएको हो। तर उनका ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।

“निकै खोजतलास गर्दा आमाको शव भेटियो, तर केटाकेटीको अवस्था अझै थाहा हुन सकेको छैन,” प्रहरी नायव उपरीक्षक बुढ्थापाले भने, “आमाको शव भेरी नदीमा भेटिएकाले छोराछोरी पनि नदीमै बेपत्ता भएको अनुमान गरिएको छ र खोजी कार्य जारी छ।”

माया आइतबार बिहान आफ्ना दुई सन्तानसँगै सम्पर्कविहीन भएकी थिइन्। बेलुका उनका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेका थिए।

त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा चार जनाको प्रहरी टोली तथा स्थानीयवासी खोजीमा खटिएका थिए। खोजीका क्रममा घरदेखि करिब तीन किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको थियो।

उक्त सामग्री फेला परेपछि मायाले भेरी नदीमा हाम फालेको हुन सक्ने आशंका गरिएको थियो। सोही आधारमा सोमबार बिहानदेखि ३५ जना प्रहरी र स्थानीयवासीको टोलीले नदी क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख