
१७ फागुन,
बाँके : सरकारले खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि जाने कामदारहरूको श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्व र असुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले जारी गरेको सूचनामा इजरायल–अमेरिका र इरानबीच विकसित युद्ध परिस्थितिका कारण खाडी राष्ट्रतर्फ श्रम स्वीकृति प्रदान गर्ने कार्य अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको उल्लेख छ। मन्त्रालयका अनुसार क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएकाले नेपाली श्रमिकको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्णय लिइएको हो।
मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग ले हालसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको थियो। तर, पछिल्ला दिनमा मध्यपूर्वमा बढेको सैन्य तनावका कारण नयाँ श्रम स्वीकृति प्रक्रिया अस्थायी रूपमा रोकिएको जनाइएको छ।
इजरायल र अमेरिकाले इरानमाथि मिसाइल आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरू लक्षित गर्दै प्रतिआक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसले खाडी क्षेत्रको समग्र सुरक्षा अवस्थालाई प्रभावित पारेको छ।
सरकारले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र अवस्था सामान्य भएपछि मात्रै श्रम स्वीकृति प्रक्रिया पुनः सुचारु गरिने जनाएको छ।












