
८ फागुन,
दाङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झन्डा जलाइएको भनिएको घटना भ्रमपूर्ण र नियोजित प्रचार भएको जनाएको छ।
रास्वपा दाङ जिल्ला समितिले जारी गरेको विज्ञप्तिमा पार्टी वा उसका कार्यकर्ताको उक्त घटनामा कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। जिल्ला सभापति विनय घिमिरेले ‘तुलसीपुरमा घण्टी पार्टीका कार्यकर्ताले एमालेको झन्डा जलाए’ भन्ने प्रचार भ्रामक र पूर्वनियोजित रहेको दाबी गरे।
विज्ञप्तिमा केन्द्रीय सभापति सुर्खेतको कार्यक्रम सकेर दाङ आउने क्रममा सडक किनारमा स्वागतमा उभिएका शुभेच्छुकहरूको भीडलाई आधार बनाएर केही अवाञ्छित तत्वले भ्रम सिर्जना गरेको ठहर गरिएको उल्लेख छ।
रास्वपाले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र कानुनी कारबाही अघि बढाउन सुरक्षा निकायसँग माग गरेको छ। साथै पार्टीले आफ्ना कार्यकर्ता तथा शुभेच्छुकलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै सुसंस्कृत राजनीतिको अभ्यासमा प्रतिबद्ध रहने जनाएको छ।












