
२६ माघ,
बाँके । कुखुराको अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ठूलो अण्डाको प्रतिक्रेट मूल्य ६० रुपैयाँले घटेर ३७५ रुपैयाँ कायम गरिएको छ भने मिडियम अण्डाको मूल्य ३३५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि ठूलो अण्डा ४३५ र मिडियम अण्डा ४०५ रुपैयाँमा कारोबार हुँदै आएको थियो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार स्वदेशी उत्पादन बढ्नुका साथै यही समयमा भारतबाट अण्डा भित्रिन थालेपछि मूल्य घटेको हो।
पछिल्लो समय अण्डाको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ। माघ ११ गते ठूलो अण्डा ४९५ र मिडियम अण्डा ४७५ रुपैयाँसम्म पुगेको थियो। त्यस्तै, गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त समयमा फार्मस्तरमै ठूलो अण्डा ५६५ र मझौला अण्डा ५५० रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो।
संघका अध्यक्ष पोखरेलले भारतीय सेतो अण्डा ठूलो परिमाणमा नेपाल भित्रिँदा स्वदेशी अण्डाले बजार र उचित मूल्य पाउन नसकेको बताए। उनले भारतीय अण्डाको अवैध आयात रोक्न संघले सम्बन्धित सरकारी निकायसँग निरन्तर माग गरिरहेको जानकारी दिए।












