
१६ बैशाख,
बाँके — भेरी अस्पतालले अस्पताल परिसरभित्र जथाभावी भिडियो तथा फोटो खिच्ने कार्यमा कडाइ गरेको छ। अस्पताल प्रशासनले सूचना जारी गर्दै पत्रकार तथा सर्वसाधारणलाई निश्चित नियम पालना गर्न आग्रह गरेको हो।
अस्पतालका अनुसार परिसरभित्र भिडियो वा फोटो खिच्दा सम्बन्धित सञ्चार संस्थाको परिचयपत्र (आईडी कार्ड) अनिवार्य रूपमा देखाउनुपर्नेछ। साथै, संवेदनशील क्षेत्रहरूमा फोटो/भिडियो खिच्नुपूर्व अस्पताल प्रशासनबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
प्रशासनले अस्पतालको सेवा प्रवाह, बिरामीको गोपनीयता र संवेदनशील अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ। अनुमति बिना खिचिएका सामग्रीले बिरामी तथा अस्पताल व्यवस्थापनमा असर पार्न सक्ने भएकाले कडाइ गरिएको अस्पतालको भनाइ छ।










