
१४ माघ,
बाँके – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर २ मा २० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। उम्मेदवारहरूले घरदैलो अभियान र प्रचारप्रसार सुरु गरिसके पनि अहिलेसम्म मतदातामा खासै चुनावी चहलपहल देखिएको छैन।
कोही उम्मेदवार एक्लै माइकिङ गर्दै हिँडेका छन् भने कोही दलबलसहित सडकमा भेटघाट, पर्चा वितरण र प्रचारमा जुटिरहेका छन्। नेपालगञ्ज बजार र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नम्बर २ ऐतिहासिक रूपमा हरेक निर्वाचनमा फरक–फरक उम्मेदवारलाई विजयी बनाउँदै आएको क्षेत्र हो।
यस क्षेत्रमा कहिले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला, कहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणा त कहिले संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई निर्वाचित भएका छन्।
वि.सं. २०६४ मा जिल्लामा चार निर्वाचन क्षेत्र कायम हुँदा नेपालगञ्ज बजार क्षेत्र नम्बर ३ मा परेको थियो। उक्त निर्वाचनमा सुशील कोइरालालाई फोरमका सर्वदेव ओझाले पराजित गरेका थिए, जुन परिणाम धेरैका लागि अप्रत्याशित मानिएको थियो।
वि.सं. २०७९ को निर्वाचनमा एमालेसँग गठबन्धन गरेर राप्रपाका डा. धवलशमशेर राणाले २९ हजार ५७८ मत ल्याउँदै विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले २३ हजार ५२० मत प्राप्त गरेका थिए। कांग्रेसका सुदीपनसिंह राणाले ४ हजार ४०३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरीले १ हजार ३३३ मत पाएका थिए।
त्यसअघि वि.सं. २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई २१ हजार ५७५ मतसहित विजयी भएका थिए। एमाले गठबन्धनका पशुपतिदयाल मिश्रले १५ हजार ९५१ र राप्रपाका ओमप्रकाश आजादले १२ हजार ६२२ मत ल्याएका थिए।
पछिल्ला निर्वाचन परिणामहरू हेर्दा यहाँ एउटै उम्मेदवार लगातार दोहोरिन नसकेको देखिन्छ। यही कारणले यसपटक पनि दलहरू आफ्नो राजनीतिक प्रभाव र पुरानो आधार जोगाउन सक्रिय देखिएका छन्।
यस निर्वाचनमा एमालेबाट मोहम्मद इस्तियाक राई, कांग्रेसबाट सुधांशु कोइराला, राप्रपाबाट ऋषिराज देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीबाट दिपेन्द्र विष्टलगायत उम्मेदवार मैदानमा छन्।
९७ हजार ८०९ मतदाता रहेको यस क्षेत्रमा कांग्रेस स्व. सुशील कोइरालाको राजनीतिक विरासत जोगाउने प्रयासमा छ भने अघिल्लो निर्वाचनमा विजयी राप्रपाले यसलाई प्रतिष्ठाको विषय बनाएको छ। तीन पटक मन्त्री भइसकेका मोहम्मद इस्तियाक राईले आफूले गरेका विकासका कामलाई आधार बनाएर पुनः विजयको दाबी गरिरहेका छन्। अघिल्ला निर्वाचनमा सीमित प्रभाव देखिएको ‘घण्टी’ चिन्ह यसपटक भने आक्रामक रूपमा अघि बढिरहेको छ। नेकपाले पनि चुनावी गतिविधि तीव्र बनाएको छ।
पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको यस निर्वाचन क्षेत्रमा मतदाताको झुकाव कता जान्छ भन्ने विषयमा अहिल्यै ठोस अनुमान गर्न कठिन देखिन्छ।












