
२८ पुस,
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनबाट पारित कार्यविधिअनुसार चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले हालको समिति भंग गरी १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति गठन गर्ने व्यवस्था गरिएको हो।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न चौधौँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए। त्यसपछि मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको थियो। तर विशेष महाधिवेशनले उक्त अवधि समाप्त भइसकेको ठहर गर्दै नयाँ संरचनामा जाने निर्णय गरेको छ।
पारित कार्यविधिअनुसार विशेष केन्द्रीय महाधिवेशनमार्फत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न एक जना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गरिनेछ। सो समितिले आवश्यक प्रक्रिया पूरा गरी पार्टीको केन्द्रीय नेतृत्व पुनर्संरचना गर्नेछ।
विशेष महाधिवेशनले विगतमा केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयहरूको पुनरावलोकन गर्ने व्यवस्था पनि गरेको छ। आवश्यक ठहरिएमा ती निर्णयहरूमा संशोधन, निष्क्रियता वा खारेजीसमेत गर्न सकिने उल्लेख गरिएको छ।
यसैगरी, पुस २७ र २८ गते बोलाइएको केन्द्रीय महाधिवेशन वैधानिक रहेको प्रस्तावसमेत विशेष महाधिवेशनले पारित गरेको छ। उक्त कार्यविधि महाधिवेशन हलले औपचारिक रूपमा अनुमोदन गरिसकेको छ।
यस निर्णयसँगै नेपाली कांग्रेसमा नेतृत्व पुनर्संरचना, संगठनात्मक सुधार र आगामी १५औँ महाधिवेशनतर्फको तयारी औपचारिक रूपमा अघि बढेको मानिएको छ।












