
२८ कार्तिक,
दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिका भएका तीन युवामाथि प्रहरी चौकी जम्बुकाँधका इन्चार्ज असई धनसिंह ठकुरीले कुटपिट गरेको आरोप लागेको छ। दैलेखको चामुण्डाबिन्द्रासैनी–५ का प्रकाश थापा, वडा ८ का लोकेश बुढा र वडा ४ का सुशील शाहीलाई बिहीबार साँझ घरतर्फ जाँदै गर्दा मदिरा सेवन गरेको भन्दै नियन्त्रणमा लिएर चौकीमै कुटपिट गरिएको पीडित पक्षले जनाएको छ।
स्थानीयका अनुसार चौकी इन्चार्ज ठकुरी स्वयं पनि मदिरा सेवन गरेका थिए। उनी लठ्ठिँदै युवालाई नियन्त्रणमा लिएर बदनियतपूर्वक कुटपिट गरेको आरोप छ। कुटपिटबाट घाइते भएका थापा र बुढालाई स्थानीय तथा प्रहरीले समन्वय गरी स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले मदिरा सेवन गरी होहल्ला गरेको व्यक्तिलाई नियन्त्रणमा लिनुपर्नेमा कुटपिट गरेको जानकारी आएको बताउँदै, इन्चार्जमाथि अनुसन्धान गरी आवश्यक कारबाही गरिने बताए।
घटनापछि शुक्रबार बिहानैदेखि स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन्। विवाद बढेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर स्थिति सम्हाल्ने प्रयास भइरहेको छ। सोसँगै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुखलगायत जनप्रतिनिधिहरू छलफलमा बसेका छन्।











