
४ चैत्र,
बाँके । नेपालगंज उपमहानगरपालिकामा कर्मचारी व्यवस्थापनको कमजोरीका कारण विभिन्न वडाहरूमा सचिव र लेखापालहरूको अभाव देखिएको छ। यसले गर्दा एकै जना सचिव वा लेखापालले एकभन्दा बढी वडाहरूको काम सम्हाल्नुपर्ने स्थिति सिर्जना भएको छ। यस्तो अवस्थाले वडाका जनप्रतिनिधिहरूलाई काम गर्न कठिनाइ भइरहेको छ भने स्थानीय बासिन्दाहरू पनि आवश्यक सेवा सहज रूपमा प्राप्त गर्न सकिरहेका छैनन्।
नेपालगंज उपमहानगरपालिकाका अधिकांश वडाहरूमा सचिव वा लेखापाल स्थायी रूपमा उपस्थित नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। स्थानीय जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रमा निर्णय गर्नुपरे पनि सचिव वा लेखापालको अभावले गर्दा प्रक्रिया अघि बढाउन कठिन भइरहेको छ। बैंकिङ कारोबार, प्रशासनिक कामकाज, योजना पास गर्ने लगायतका कार्यहरू प्रभावित भएका छन्।
बाँके अपडेटसँग कुरा गर्दै वडाका केही जनप्रतिनिधिहरूले नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले यो समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन्। “हामीले पटक–पटक नगरपालिकामा गुहार माग्दा पनि समस्या समाधानका लागि कुनै पहल भएको छैन,” एक वडाध्यक्षले बताए।
स्थानीय तहमा प्रभावकारी सेवा प्रवाहको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखको हुन्छ। तर, नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो समस्याप्रति चासो नदेखाएको भन्दै स्थानीय जनप्रतिनिधिहरू असन्तुष्ट देखिएका छन्। वडाहरूमा स्थायी सचिव वा लेखापाल नियुक्त गर्न नसक्दा सेवा प्रवाह ढिलो भइरहेको र स्थानीयवासी मारमा परिरहेको उनीहरूको गुनासो छ।
यो समस्याको समाधानका लागि उपमहानगरपालिकाले तत्काल वडाहरूमा आवश्यक कर्मचारी नियुक्त गर्नुपर्ने देखिन्छ। अस्थायी वा करारमा भए पनि वडाहरूमा सचिव तथा लेखापालको व्यवस्था गर्न सकिन्छ। साथै, उपमहानगरपालिकाले यो विषयलाई प्राथमिकतामा राखी कर्मचारी व्यवस्थापनको नीति पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ।
यदि समयमा नै नगरपालिकाले ध्यान नदिने हो भने, जनप्रतिनिधिहरू र स्थानीयवासीहरूको आक्रोश बढ्ने सम्भावना रहन्छ। सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन नेपालगंज उपमहानगरपालिकाले तुरुन्त कदम चाल्नुपर्ने देखिन्छ।








