
६ बैशाख,
बाँके । बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा रोगको समस्या देखिएको छ । आँपमा फल लाग्ने मुख्य समयमा नै कीराको समस्या देखिएकोे जानकी गाउँपालिका–१ का उत्पादक किसान अब्दुल वाजिद साईले बताए ।
‘फूल फुल्ने समयमै कीराको समस्या देखिएको छ’, उनले भने, ‘आँपको फूल कीराले चुसेर खाएकाले धेरै फल लाग्ने सम्भावना कम छ ।’
कृषि ज्ञान केन्द्र बाँकेले यस समस्याबाट जुध्न किसानलाई परामर्श र विषादी सिफारिस गर्दै आएको छ । कीराको समस्या देखिनुअघि नै सतर्कता अपनाउनु उत्तम उपाय भएको कार्यालयका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।
‘कीराको सङ्क्रमणबाट जोगिन आँपमा फूल लाग्नुभन्दा अगाडि नै आवश्यक विषादीको प्रयोग गर्नुपर्दछ । ढिलो गरी विषादी प्रयोग गर्दा फूलमा क्षति भइसकेको हुन्छ’, वरिष्ठ बागवानी विकास अधिकृत पाठकले भने, ‘कीराको समस्यालाई समयमै नियन्त्रण गर्न नसके जिल्लाको समग्र आँप उत्पादनमा ठूलो ह्रास आउने अवस्था देखिएको छ ।’
जिल्लामा गत वर्ष एक हजार १५ हेक्टर क्षेत्रफलमा नौ हजार ९१५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष मधुवा फड्केकीराको तीव्र सङ्क्रमणका कारण सोही परिमाणमा उत्पादन हुने सम्भावना निकै कम देखिएको सूचना अधिकारी पाठकको भनाइ छ ।
उनका अनुसार, मधुवा फड्केकीरा समूहमा उड्ने र निकै छिटो एक बगैँचाबाट अर्कोमा सर्ने गर्दछ । यसले आँपको फूल र कलिलो मुनाको रस चुस्छ, यसका कारण फूलहरू ओइलाउँछन् र फल नलाग्दै झर्छन् । कीराले एउटा चिप्लो पदार्थ पनि छोड्ने गर्छ, जसले गर्दा फूलमा कालो ढुसी लागेर झन क्षति पु¥याउँछ ।
कृषि ज्ञान केन्द्रले प्रभावित किसानहरूलाई तत्काल प्राविधिक सल्लाह लिन र सिफारिस गरिएका विषादीहरूको उचित मात्रामा प्रयोग गर्न आग्रह गरेको सूचना अधिकारी पाठकले बताए ।









