
४ बैशाख,
बाँके । मधेश प्रदेशमा ट्राफिक नियम पटक–पटक उल्लंघन गर्ने सवारी चालकहरूमाथि कडाइ गरिएको छ। पाँच पटकभन्दा बढी नियम उल्लंघन गरेका ८ जना चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनका लागि प्रक्रिया अघि बढाइएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार Traffic Violation Record System (TVRS) मा विवरण जाँच गर्दा ती चालकहरूले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको पुष्टि भएपछि उनीहरूको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था कार्यालय वीरगञ्ज, पर्सा पठाइएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६० अनुसार चालकले पालन गर्नुपर्ने सर्तहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको प्रमाणित भएमा सम्बन्धित अधिकारीले ६ महिनासम्मका लागि चालक अनुमति पत्र निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ।
कार्यालयले अबदेखि मधेश प्रदेशका सबै ट्राफिक प्रहरी कार्यालयहरूलाई पनि सोही व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। ट्राफिक प्रहरीले दफा १६० र १६४ अनुसार तत्काल कारवाही गर्न सक्ने कसुरहरू ५ पटक वा सोभन्दा बढी दोहोरिएको पाइएमा त्यस्ता चालकहरूको लाइसेन्स निलम्बनका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाइने जनाइएको छ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंहले नियम उल्लंघन गर्ने चालकहरूलाई नियन्त्रण गर्न यस्तो कदम चालिएको जानकारी दिएका छन्।









