
१८ चैत्र,
बाँके । आज अप्रिल १ तारिख । यो दिनलाई ‘अप्रिल फुल’ मनाउने दिन भनेर चिनिन्छ ।
यस दिन साथीभाइहरूलाई झुक्क्याएर मूर्ख बनाएर रमाइलो गरी मनाउने गरिन्छ । तर, यसपटक नेपाल प्रहरीले समेत धेरैलाई मूर्ख बनाएर ‘अप्रिल फुल’ मनाएको छ । तर, अप्रिल फुल मनाउँदै गर्दा प्रहरीले जनचेतनामूलक सन्देश समेत दिएको छ ।
प्रहरीले एक पोस्ट जारी गर्दै ‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस्’ भन्दै क्यूआर स्क्यान गर्न दिएको छ ।

तर, क्यूआर स्क्यान गर्दा ‘अप्रिल फुल’ भन्ने सन्देश आउँछ, जसमा जनचेतनामूलक जानकारी पनि दिइएको छ । सन्देशमा भनिएको छ,

तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो । आज हामीले मजाक गरेका थियौँ । तर भोलि यस्तै क्यूआरबाट तपाईं स्क्याममा पनि पर्न सक्नु हुन्छ । याद राख्नुहोस् –
- आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यूआर कोड स्क्यान नगर्नुहोस् ।
- आफूसँगै आफ्नो परिवारका सदस्यहरूलाई पनि सम्झाउनुहोस्।
- स्क्यान गर्नुअघि सधैँ भेरिफाई गर्नुहोस् सचेत हुनुस् ।
प्रविधिको विकाससँगै पछिल्लो समय नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत यस्ता सचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेको छ । यसलाई विशेष गरेर युवापुस्ताले निकै मन पराएका छन् ।









