
१८ चैत्र,
बाँके — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएको साप्ताहिक बिदासम्बन्धी सूचनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
मन्त्रालयका अनुसार, मिति चैत १७ गतेको मिति राखी शैक्षिक संस्थाहरू हरेक हप्ता शनिबार र आइतबार पूर्ण रूपमा बन्द हुने भनी प्रसारित सूचना कपोलकल्पित तथा भ्रामक रहेको स्पष्ट गरिएको छ। यस्तो निर्णय मन्त्रालयले नगरेको र उक्त सूचनामा कुनै सत्यता नरहेको जनाइएको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सबै शैक्षिक संस्था तथा सरोकारवालाहरूलाई यस्ता झुटा सूचनामा विश्वास नगर्न आग्रह गरेका छन्।
साथै, सरकारी कागजात, छाप तथा हस्ताक्षरको दुरुपयोग गरी भ्रामक सूचना फैलाउने व्यक्तिहरूलाई पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।










