
१६ चैत्र,
बाँके । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार कारण देखाउ आदेश जारी गर्दै रिहा गर्न अस्वीकार गरेको हो ।
लेखककी श्रीमती यशोदा लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई तत्काल रिहा गर्न अस्वीकार गरेको हो ।
प्रहरीले लेखकलाई ज्यानसम्बन्धी कसुरअन्तर्गत शनिबार बिहान भक्तपुरस्थित कटुन्जेबाट पक्राउ गरेको थियो ।
उक्त पक्राउ गैरकानूनी तथा गैरसंवैधानिक रहेको भन्दै थुनामुक्त गरी पाऊँ भन्दै लेखककी श्रीमती यशोदाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
निवेदकको रिट जारी गर्नु पर्ने हो वा होइन भन्ने विषयमा विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतको नाममा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरिएको छ ।
लेखकलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै काठमाडौं जिल्ला अदालतले आइतबार ५ दिनको म्याद थप गरेको हो ।
उनलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।









