
१६ चैत्र,
बाँके : बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले सोमबार शर्मालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो ।
शर्माको घरबाट २०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाले घरेलु श्रमिकका रुपमा राखेकी एक बालिकालाई उद्धार गरेको थियो । प्रहरीम जाहेरी दर्ता भएपनि त्यतिबेला महान्यायाधिवक्ता कार्यालयले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो।
अदालतले महान्यायाधिवक्ता कार्यालयबाट कस्तो निर्णय भएको हो भन्ने विषयमा इजलासबाट तत्काल एकीन गर्न नसकिएको र सरकारी वकिल कार्यालयले समेत बहसका क्रममा तत्काल टुंगो लगाउन कार्यालयमा भएका मिसिल कागज जलेर नष्ट भएको भन्दै केही समय थुनामा राख्न माग गरेको भन्दै ३ दिनको समय दिएको हो।









