
१३ चैत्र,
बाँके — पश्चिम नेपालको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘कोहलपुर गोल्डकप’ को चौथो संस्करण २०८३ साल बैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता कोहलपुर नगरपालिका–१३ स्थित तेह्र बिघा खेलमैदानमा आयोजना गरिनेछ।
आयोजक समितिका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ। संयोजक कर्ण बहादुर बस्नेतले विगतका सफल संस्करणलाई निरन्तरता दिँदै यस वर्ष प्रतियोगितालाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र आकर्षक बनाइएको जानकारी दिए। उनका अनुसार गोल्डकप खेलकुद मात्र नभई क्षेत्रीय पहिचान र विकाससँग जोडिएको अभियानका रूपमा स्थापित हुँदै गएको छ।
यस संस्करणमा ए डिभिजनका ३ क्लब, २ विदेशी टोली र मोफसलका २ टोलीसहित कुल ७ टिम सहभागी हुनेछन्। यसले स्थानीय तथा उदीयमान खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउने अपेक्षा गरिएको छ।
पुरस्कारतर्फ विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर बढाउन यसले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।
कार्यक्रमकी प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता पौडेलले स्थानीय खेलकुद विकासका लागि गोल्डकप कोसेढुङ्गा सावित हुने बताइन्।
खेलकुदसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजकले विशेष कार्यक्रमसमेत राखेको छ। फाइनलमा पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइनेछ भने स्थानीय होमस्टेमा बसोबास र मौलिक खानाको अनुभवसमेत प्रदान गरिनेछ।
यस वर्ष प्रतियोगिताको व्यवस्थापन तथा मार्केटिङको जिम्मेवारी ईश्वरी युनाइटेड प्रालिलाई दिइएको छ। आयोजकका अनुसार यस सहकार्यले प्रतियोगिताको पहुँच र प्रभावलाई अझ विस्तार गर्नेछ।
खेल तालिका, सहभागी टोलीहरूको विस्तृत विवरण तथा मुख्य प्रायोजकबारे जानकारी भने आगामी दिनहरूमा सार्वजनिक गरिने जनाइएको छ। आयोजकले प्रतियोगिता सफल बनाउन सञ्चारकर्मी, खेलप्रेमी तथा स्थानीयवासीको सक्रिय सहयोगको अपेक्षा गरेको छ।









