
२ चैत्र,
बाँके । पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।
नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि महासंघले यस्तो माग अघि सारेको हो।
महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा इन्धनको एकाएक भएको भारी मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवै प्रत्यक्ष प्रभावित भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीमार्फत भाडा समायोजन हुँदै आएको भए पनि विगत २०८१ माघ २२ गतेयता सार्वजनिक यातायातको भाडा समायोजन भएको छैन। हालको उच्च मूल्यवृद्धिले व्यवसायीहरूलाई सेवा सञ्चालन गर्न कठिन भएको छ।”
महासंघले वैज्ञानिक विधि र निर्धारित सूचकका आधारमा सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारसँग आग्रह गरेको छ।
सवारी साधन सञ्चालनसँग सम्बन्धित १३ वटा सूचकका आधारमा संघीय रुट तथा सातै प्रदेशका रुटमा लागू हुने भाडा यथाशीघ्र समायोजन गर्न महासंघले माग गरेको छ।









