
२८ फागुन,
सुर्खेत । वीरेन्द्रनगर–१ मा बस्दै आएकी सुर्खेतकी १६ वर्षीय बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि प्रहरी उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो ।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।
मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
थापाका अनुसार, सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसा विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको दाबी छ । २३ गते विहान शहीद पार्क घुम्न जाने पूर्व सल्लाह अनुसार उनीहरू पार्क नजिकैको जङ्गलमा गएको देखिएको प्रहरीको भनाइ छ ।
त्यहाँ जबरजस्ती करणीपछि मृतकको पाठेघर च्यातिएको र अत्यधिक रक्तस्रावपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
कर्णाली प्रदेश अस्पताल, कालागाउँका तीन जना चिकित्सक सहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार आएको छ ।
जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको डा. शाक्यले जानकारी दिए ।
‘पोस्टमार्टम रिर्पोटमा संवेदनशील अंग च्यातिएपछि अत्याधिक रक्तस्राव भएपछि मृत्यु भएको देखिन्छ,’ उनले भने ।
पाठेघरसम्म घाउको धब्बा देखिएको डा. शाक्यले बताए । ‘पीडितको संवेदनशील अंग पुरै च्यातिएर पाठेघरसम्म घाउको कालो धब्बा देखिएको छ’ डा. शाक्यले भने ।










