
२८ फागुन,
बाँके । मकवानपुरमा प्रहरीमाथि आक्रमण गर्ने एक युवालाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ।
मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा प्रहरी कारबाहीका क्रममा गोली चलाउँदा एक युवक घाइते भएका हुन्। गएराति करिब राति ९ बजे उक्त क्षेत्रमा लागुऔषध सेवन तथा झै–झगडा भइरहेको भन्ने सूचनापछि प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोली घटनास्थलमा पुगेर संलग्न व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा उनीहरूले अचानक प्रहरीमाथि आक्रमण गरेका थिए। आक्रमणका क्रममा तामाङमाथि बियरको बोतल, खुकुरी र बन्चरो प्रहार हुँदा उनका दुबै हातमा चोट लागेको प्रहरीले जनाएको छ।
आत्मरक्षाका लागि तामाङले पेस्तोलबाट फायरिङ गर्दा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने अन्दाजी १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको थियो। घाइते तितुङको चुरेहिल सिएमसी अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा थप प्रहरी टोली खटाइएको थियो।
उक्त घटनामा संलग्न हेटौंडा–१२ रमनटार बस्ने अन्दाजी २४ वर्षीय सन्जय जिम्बा र सोही स्थानका अन्दाजी ३५ वर्षीय अजय थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना तथा गोली लागेका युवक विगतमा लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरीजस्ता विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।










