
२३ फागुन,
काठमाडौं : रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूले यो निर्णय कुनै निराशा, हताशा वा हतारमा नभई गम्भीर सोच–विचारपछि लिएको बताएका छन्।
विज्ञप्तिमा उनले देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत रहे पनि त्यसलाई संगठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीविभिन्न कारणले सफल हुन नसकेको उल्लेख गरेका छन्। पार्टीका वरिष्ठ उपाध्यक्षको हैसियतले त्यसको जिम्मेवारी आफूले पनि लिनुपर्ने उनको भनाइ छ।
मिश्रले बदलिँदो भूराजनीतिक अवस्था तथा देशभित्र देखिँदै गएको जटिल परिस्थितिका कारण देशको भविष्य सुरक्षित गर्न नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
सोही सन्दर्भमा उनले दुई महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। पहिलो, आजैदेखि लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। दोस्रो, राजसंस्था पुनर्स्थापना, सुशासन लगायतका मुद्दामा आफ्नो अडान यथावत रहने र अब केही समय गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचार र धारणा सार्वजनिक गरिरहने बताएका छन्।
उनले विगत ९ वर्षको आफ्नो राजनीतिक यात्रामा इमानदारीपूर्वक राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको उल्लेख गर्दै देशभन्दा माथि व्यक्तिगत स्वार्थ राखेर कुनै काम नगर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
यस अवसरमा उनले आफ्नो राजनीतिक यात्रामा साथ दिने देश–विदेशका नेपाली तथा पार्टीका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।
त्यस्तै, उनले हालै निर्वाचनमा सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाली राजनीति गलत दिशातर्फ नजाओस् भन्ने कामना गरेका छन्।












