
१२ फागुन,
कोहलपुर — कोहलपुर नगरपालिका ले नगर क्षेत्रमा जडान भई प्रयोगविहीन तथा अव्यवस्थित अवस्थामा रहेका केवल तार हटाउन निर्देशन दिएको छ । पालिकाले १५ दिने सार्वजनिक सूचना जारी गरी सम्बंधित संस्थाहरूलाई हटाउन निर्देशन दिएको हो
नगरपालिकाका अनुसार अव्यवस्थित रूपमा झुन्डिएका केवल तारका कारण शहरी सौन्दर्यकरणमा कुरूपता देखिनुका साथै आगलागी र सवारी दुर्घटनाका घटनासमेत हुने गरेको छ। यस समस्याको व्यवस्थापनका लागि आइतबार बसेको सरोकारवाला पक्षहरूको बैठकले आवश्यक निर्णय गरेको थियो।
निर्णयअनुसार चैत्र २ गतेदेखि अव्यवस्थित केवल तार व्यवस्थापन तथा हटाउने कार्य सुरु गरिने जनाइएको छ। नगर क्षेत्रभित्र विभिन्न केवल टेलिभिजन तथा दूरसञ्चार सेवा प्रदायक संस्थाहरूले जडान गरी हाल प्रयोगविहीन अवस्थामा रहेका सबै केवल तार सम्बन्धित निकायले स्वयं हटाउनुपर्नेछ।
नगरपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रयोगविहीन तार नहटाएमा नगरपालिका स्वयंले हटाउने र त्यसबापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पक्षबाटै असुलउपर गरिने स्पष्ट पारेको छ।












