१२ फागुन,

बाँके — अमेरिकाको भर्जिनिया राज्यमा एक नेपाली परिवारमा भएको भीषण घटनामा श्रीमती र छोरीको हत्या भएको छ भने आक्रमणकारी स्वयं प्रहरीको गोलीबाट मारिएका छन्।

उदयपुरको बेलका नगरपालिका घर भएका ५१ वर्षीय छत्रबहादुर थापाले धारिलो खुँडा प्रहार गरी आफ्नी ३१ वर्षीया छोरी ममता थापा र ५१ वर्षीया श्रीमती बिन्दा थापाको हत्या गरेको जनाइएको छ। घटनामा थापाका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत गम्भीर घाइते भएका छन्।

परिवार भर्जिनियाको पर्सिमोन ड्राइभस्थित घरमा बसोबास गर्दै आएको थियो। स्थानीय समयअनुसार बिहान करिब ५:१५ बजे घरेलु हिंसासम्बन्धी सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो। ज्वाइँ बस्नेत बाहिर गाडीबाट हिउँ हटाउँदै गर्दा घरभित्रको कोलाहल सुनेपछि ९११ मा फोन गरेका थिए।

घरभित्र प्रवेश गर्दा उनले आफ्नी श्रीमती र सासूलाई रगतले लतपत अवस्थामा फेला पारेका थिए। त्यसपछि थापाले बस्नेतमाथि पनि खुँडा प्रहार गरेका थिए। घटनास्थलमा पुगेका प्रहरीले थापालाई बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा भेटेका थिए। पटक–पटक हतियार छोड्न आदेश दिए पनि नमानेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल रहेको बताइएको छ। डीभीमार्फत अमेरिका पुगेकी छोरीले दशैँपछि आफ्ना बुबा–आमालाई अमेरिका घुमाउन लगेकी थिइन्।

घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख