२६ माघ,

बाँके । लुम्बिनी प्रदेशमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय गम्भीर चुनौतीका रूपमा देखिएको छ। लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रममा वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउने विषयमा छलफल गरिएको छ।

प्रदेश वन निर्देशनालयका अनुसार पछिल्लो ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै बर्दिया जिल्लामा ८ जनाको ज्यान गएको छ भने कपिलवस्तु र बाँकेमा एक–एक जनाको मृत्यु भएको हो। चितुवा, पाटे बाघ र जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति बढ्दै गएको निर्देशनालयले जनाएको छ।

यस अवधिमा वन्यजन्तुको आक्रमणबाट १४ जना घाइते भएका छन्। बर्दियामा १२ जना र पश्चिम नवलपरासीमा २ जना घाइते भएका हुन्। यस्तै, वन्यजन्तुको आक्रमणबाट ९७ वटा पशुचौपायाको मृत्यु भएको छ। जसमध्ये बर्दियामा सबैभन्दा धेरै ८३ वटा पशुचौपाया मारिएका छन् भने अर्घाखाँचीमा ४, पश्चिम नवलपरासीमा ६ र गुल्मीमा ४ वटा पशुचौपायाको मृत्यु भएको छ।

यसैगरी, चालु आर्थिक वर्षको पहिलो छ महिनामा ३१५ वटा घाइते वन्यजन्तुको उद्धार गरिएको छ भने १७ वटा वन्यजन्तुको मृत्यु भएको प्रदेश वन निर्देशनालयले जनाएको छ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु तथा घाइते भएका परिवारलाई राहत वितरण गर्दै आएको प्रदेश सरकारले बर्दियामा मात्रै २५ जनालाई १ करोड २२ लाख ५३ हजार ८ सय रुपैयाँ राहत वितरण गरेको छ। यसमा मानवीय क्षति भएका ११ जनाका परिवार तथा १४ जना घाइतेलाई उपचार खर्च उपलब्ध गराइएको छ। चालु आर्थिक वर्षमा मृत्यु भएका ८ जनाका परिवार र गत आर्थिक वर्षमा मृत्यु भएका ३ जनालाई समेत चालु आर्थिक वर्षमै राहत प्रदान गरिएको हो। बाँके जिल्लामा ३ लाख ९० हजार रुपैयाँ राहत वितरण गरिएको छ।

अर्धवार्षिक समीक्षा कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको अध्यक्षतामा तथा वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वन निर्देशनालयका महानिर्देशक प्रभात साप्कोटाले अर्धवार्षिक उपलब्धि विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा वनमन्त्री कलवारले मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै जानु चिन्ताको विषय भएको भन्दै समस्या समाधानका लागि ठोस र प्रभावकारी योजना तत्काल कार्यान्वयन गर्न निर्देशन दिए। सचिव भट्टराईले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रदेश, स्थानीय तह र समुदायको सामूहिक पहल आवश्यक रहेको बताए। वरिष्ठ वन अधिकृत टोलकराज चापागाईंले लुम्बिनी प्रदेशमा विपद्का कारण मृत्यु हुने संख्या बढे पनि वन्यजन्तुको आक्रमणबाट भएको क्षति तुलनात्मक रूपमा न्यून रहेको उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित ख