
२८ पुस,
बाँके। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट युवा नेता दिपक बुढाथोकी बाँके क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा होमिएका छन्। सक्रियता, अध्ययनशीलता र काम गर्ने क्षमताका कारण उनी पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएका छन्।
सामाजिक न्याय, परिवर्तनमुखी राजनीति र आम नागरिकका अधिकारका पक्षमा लामो समयदेखि क्रियाशील रहँदै आएका बुढाथोकीले संसदमा युवाको वास्तविक प्रतिनिधित्व गराउने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्। बेरोजगारी, वैदेशिक रोजगारीको बाध्यता, अवसरको कमी र पुरानै राजनीतिक शैलीबाट निराश बनेका युवाका लागि उनको उपस्थितिलाई नयाँ विकल्पका रूपमा हेरिन थालिएको छ।
गुलाफ चुनाव चिन्हसहित चुनावी मैदानमा उत्रिएका बुढाथोकीले शिक्षा, सीप विकास, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन, स्वदेशमै रोजगारी सिर्जना र युवालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
उनको भनाइमा, “युवालाई भाषणको दर्शक होइन, निर्णयको केन्द्रमा पुर्याउनु आजको आवश्यकता हो।”
इमानदारी, संघर्षशीलता र जनताको सुख–दुःखमा सँगै उभिने नेताका रूपमा चिनिँदै आएका बुढाथोकीलाई पुरानो राजनीतिक सोच र अभ्यासको विकल्प मान्नेहरूको संख्या दिनानुदिन बढिरहेको देखिन्छ। सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म उनको समर्थन विस्तार हुँदै गएको छ।
“राजनीति पदका लागि होइन, जिम्मेवारीका लागि हो” भन्ने दृष्टिकोणसहित अघि बढेका बुढाथोकीले बाँके क्षेत्र नं. १ लाई युवा–मैत्री, अवसरयुक्त र विकासमुखी क्षेत्रका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी पहिलोपटक मतदान गर्न लागेका युवामाझ उनको उम्मेदवारीले उत्साह थपेको छ।
आगामी निर्वाचनमा गुलाफ चिन्हमा मतदान गरेर युवाको आवाज, नयाँ सोच र सार्थक परिवर्तनको पक्षमा उभिन उनले बाँके क्षेत्र नं. १ का मतदातासँग आग्रह गरेका छन्।












