
१७ पुस,
बाँके । लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले एक जना व्यक्तिलाई लागू औषध (ब्राउन सुगर) सहित पक्राउ गरेको छ।
जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर नजिक लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो नेपालगञ्ज, बाँकेबाट खटिएको प्रहरी टोलीले शंकास्पद व्यक्तिलाई खानतलासी गर्ने क्रममा प्रहरीले आक्रमणको सामना गर्नुपरेको थियो।
खानतलासीका क्रममा उक्त व्यक्तिले प्रहरी टोलीमाथि आक्रमण गर्दै फरार हुन खोजेपछि खटिएको प्रहरी टोलीले ३ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने व्यक्ति भारत उत्तर प्रदेश राज्यको बहराइच जिल्ला, रुपैडिया थाना क्षेत्र बस्ने ३५ वर्षीय इलिहास अहमद रहेको खुलेको छ। उनको साथबाट २८० ग्राम १६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिमाथि सम्मानित बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीले दिए ।








