कोहलपुर, बाँके। सवारी दुर्घटनामा कमी ल्याउन लक्षित गर्दै कोहलपुरमा सार्वजनिक सवारी चालक तथा सह-चालकहरूका लागि आयोजना गरिएको निःशुल्क आँखा परीक्षण शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ। कोहलपुर बसपार्क क्षेत्रमा क्रियाशील चालक–सहचालकहरूका लागि गरिएको यस शिविरमा २५० भन्दा बढीले आँखाको परीक्षण गराएका छन्।

शिविर इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त पहलमा सञ्चालन गरिएको हो। कोहलपुर नगरपालिका, फत्तेबाल आँखा अस्पताल, तथा बागेश्वरी यातायात प्रालिको सहकार्यमा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरिएको थियो।

नगरप्रमुख पूर्ण प्रसाद आचार्यले आँखा परीक्षण शिविरको उद्घाटन गर्दै भने,
“सवारी साधन सञ्चालन गर्ने व्यक्तिको दृष्टि स्पष्ट हुनु यात्रुको जीवन सुरक्षासँग प्रत्यक्ष जोडिएको कुरा हो। यदि कसैलाई शल्यक्रियाको आवश्यकता देखिएमा कोहलपुर नगरपालिकाले उपचार खर्चमा फत्तेबाल आँखा अस्पतालसँग सहकार्य गरेर पूर्ण सहयोग गर्नेछ।”

शिविरको उद्देश्यबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डीएसपी लक्ष्मी खनालले भनिन्,
“सवारी दुर्घटनाको एक मूख्य कारण चालकहरूको कमजोर दृष्टि पनि हो। यस्ता निःशुल्क स्वास्थ्य शिविरले समस्याको पहिचान गर्न र समाधानको बाटो खोल्न ठूलो मद्दत पुर्‍याउँछ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार,
“चालू आर्थिक वर्षको पहिलो आठ महिनामै बाँके जिल्लामा ४०९ वटा सवारी दुर्घटना भएका छन्। यस्तो स्वास्थ्य परीक्षणमार्फत जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो।”

शिविरमा आएका धेरै चालकहरूले परीक्षणबाट आफूलाई दृष्टि सम्बन्धी समस्या रहेको थाहा पाएको र समयमै उपचार गर्न पाउने मौका पाएको बताए। सहभागीहरूद्वारा यस्तो सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

यो पहल न केवल स्वास्थ्य परीक्षणमा सीमित रह्यो, तर सवारी सुरक्षाप्रति राज्य र सुरक्षाकर्मीको संवेदनशीलता र उत्तरदायित्वको उत्कृष्ट प्रतिबिम्ब पनि बन्यो। भविष्यमै यस्ता कार्यक्रमले अझ धेरै जनशक्तिलाई समेट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख