
९ माघ,
बाँके । बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको शाखा उद्घघाटन गरिएको छ । बुधबार लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेद्वारा यातायात व्यवस्था कार्यालयको शाखा उद्घघाटन गरिएको हो ।
उद्योग, पर्यटन तथा यातायातमन्त्री न्यौपानेले यातायात सेवा कार्यालय उद्घाटन गर्दै नागरिकलाई यातायातसम्बन्धी सेवा सहज रुपमा प्रदान गर्न कार्यालय विस्तार गरिएको बताए । मन्त्री न्यौपानेले यातायातसम्बन्धी सेवा नागरिकमैत्री हुनुपर्ने भन्दै नागरिकको सहजताका लागि मन्त्रालयले काम गरिरहेको बताए ।
प्रदेश सरकारको कुनै पनि थप आर्थिक दायित्व सृजना नहुने गरी यातायात सेवा कार्यालय विस्तार गरिएको मन्त्री न्यौपानेले जानकारी दिए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व बन मन्त्री दुर्गा चौधरी, पूर्व सामाजिक विकास मन्त्री रत्न खत्री, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, समिति बाँकेका उप संयोजक सिता कार्की, कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुवेदी, प्रदेश सांसद सञ्जु कुमारी चौधरी लगाएत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।
कोहलपुर शाखाबाट तीन प्रकारका सेवा प्रवाह हुनेछन् । मन्त्रालयका अनुसार सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब नवीकरण र पटके सेवा यस कार्यालयबाट प्रवाह गरिनेछ ।









