
१७ माघ,
पाकिस्तान । सरकारी गोपनीयतासम्बन्धी मुद्दामा १० वर्षको कैद सजाय भएको भोलिपल्टै पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको भ्रष्टाचारसम्बन्धी ‘अकाउन्टाबिलिटी’ अदालतले तोषाखानासम्बन्धी मुद्दामा खान र उनकी पत्नी बुशरा बिबीलाई पनि १४ वर्षको जेल सजाय सुनाएको हो ।
न्यायाधीश मुहम्मद बसिरले खानलाई १० वर्षका लागि अयोग्य ठहर गर्नुका साथै दम्पतीलाई प्रतिव्यक्ति ७८ करोड ७० लाख जरिवानाको फैसलासमेत गरेका छन् । खानमाथि विदेशीबाट प्राप्त उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको आरोप लगाइएको हो ।
हिजो मात्र विशेष अदालतले सरकारी गोप्य जानकारी सार्वजनिक गरेको आरोपमा खानलाई १० वर्षको जेल सजाय सुनाएको थियो । तेहेरिक-ए-इन्साफ पार्टी (पीटीआई) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारसम्बन्धी अर्को मुद्दामा तीन वर्षको जेल सजाय भोगिरहेका छन् ।
उनले आफूमाथि राजनीतिक प्रतिशोध लिन मुद्दा लगाइएको दाबी गर्दै आएका छन् । अदालतको पछिल्लो आदेशसँगै पूर्वप्रधानमन्त्री खान आगामी फेब्रुअरी ८ का दिन हुने चुनाव लड्न नपाउने भएका छन् ।





