
११ बैशाख,
बाँके । २०७९ स्थानिय तह निर्वाचनका लागि आइतबार र सोमबार देशभरी उम्मदेवारी दर्ता सुरु भएको छ ।
सोही क्रममा बाँके जिल्लाको कोहलपुरमा पनि उम्मेदवारी दर्ता सुरु भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बैशाख ११ र १२ गते विहान १० बजे देखी बेलुका ५ बजे सम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको कोहलपुर नगरपालिकाका निर्वाचन अधिकृत जिल्ला अदालत बाँकेका श्रेष्तेदार तिर्थराज भट्टले जानकारी दिए ।
उनका अनुसार, उम्मेदवारी दर्ता गराउँदा वडा सदस्य पदका लागि पाँच सय, वडाध्यक्ष पदका लागि एक हजार, अध्यक्ष, उपध्यक्ष, प्रमुख वा उपप्रमुख पदका लागि एक हजार पाँच सय रुपैया धरौटि बुझाउनुपर्नेछ ।
उम्मेदवारी दर्ता गर्नेक्रममा व्यक्तिले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित पालिकाको मतदाता नामावलीमा नाम भएको निस्सा, धरौटी राखेको बैंक भौचर अनिवार्य गरिएको छ ।
त्यसैगरी दलका उम्मेदवारका हकमा उम्मेदवारीको औपचारिक पत्र, नेपाल सरकारबाट अनुदान प्राप्त संस्था वा निकायबाट पारिश्रमिक पाउनेगरी बहाल रहेको भए राजीनमा दिएको निस्सा निर्वाचन निर्देशिका २०७८ को अनुसुची १३ बमोजिमको निस्सा संलग्न गरेर निर्वाचन अधिकृतको कार्यालयमा दर्ताका लागि निवेदन दिनुपर्ने निर्वाचन अधिकृत भट्टले बताए ।





