
८ बैशाख,
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो जलेको बताएका छन् ।
बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालिन नेकपाका नेताहरु माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै उनीहरुको थुतुनो जलेको बताएका हुन् ।
ओलीले भने ‘एमालेको सूर्य सिध्याउँछु भनेर खान हिँडेकाहरूको थुतुनो जलेको छ’, आफुविरुद्ध १९ पृष्ठ लामो आरोपको पुलिन्दा अघि सारिएको पनि बताए ।
२८ वर्षसम्म पार्टीको नेतृत्व गरेका र प्रधानमन्त्री भैसकेका केही नेताहरु एमाले ध्वस्त पार्छौ भनेर छोडेको अवस्थामा आज पार्टीको वैचारिक स्पष्टता, सांगठनिक सुदृढता हुनु कम चुनौतिपूर्ण नभएको ओलीले बताए । ‘हामी विशेष परिस्थिति र अत्यन्तै सफलताका साथ अघि बढिरहेका छौ । चुनौति र व्यवधान खडा गर्न खोजिएको छ’, अध्यक्ष ओलीको भनाइ छ ।
साथै एमालेले लिएको नीति र विचारले देशलाई विकास र सुशासन दिनसक्छ भन्ने पुष्टि भएको उनले दावी समेत गरे । ‘नीतिगत रुपले एमालेले देशलाई चौतर्फी ढंगले अघि बढाउन सक्छ । देश विकास र सुशासनलाई अगाडि बढाएर सम्मृद्ध नेपाल, सुखी नेपाली बनाउनसक्छ भन्ने आम विश्वास बढेको छ’, ओलीको भनाइ छ ।





