
१६ फागुन,
बाँके । राष्ट्रिय जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसिसी जालझेल गरेर अनुमोदन गरेको भन्दै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो । आइतबार संसदमा एमसिसि पास भएको थियो।
सोमबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयले गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।
बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै केपी ओलीले लादेको प्रतिगमनका विरुद्ध मात्रै पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आएको उल्लेख गरेका छन ।
‘एमसीसी सम्झौताले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउनुका साथै सम्झौताका आडमा अमेरिकी सेनासमेत नेपाल आउन सक्ने र त्यसबाट हाम्रो असंलग्न परराष्ट्रनीति पनि धरासायी हुने भएकोले विद्यमान अवस्थामा एमसीसी विरुद्धको संघर्ष प्रधान बनेर अगाडि आएको छ’ जारी विज्ञप्तिमा भनिएको छ,
‘पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ ।
एमसिसी विरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीयस्तरका विरोधसभा गर्ने निर्णयसमेत गरेको छ।





