
३ मंसिर,
काठमाडौं । झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्दै आएका ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकवल गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर बस्दै आएका ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेकाहरूले झुटा विवरण र किर्ते कागजात प्रयोग गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकामाथि नागरिकता सम्बन्धी कसुर, लिखत कीर्ते तथा संगठित अपराधसम्बन्धी अभियोगमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको एसपी आचार्यले जानकारी दिए ।











