
७ चैत्र,
सुरज चौधरी/बाँके । कोहलपुर नगरपालिकाले केबुल तार व्यवस्थापन गर्न केबुल सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ ।
कोहलपुर नगर क्षेत्रभित्र विभिन्न स्थानहरुमा विभिन्न केबुल सेवा प्रदायक संस्थाबाट जडान गरिएका केबुल तारहरु कतिपय स्थानमा मापदण्ड विपरीत जडान गरिएको, विभिन्न स्थानमा लत्रिएको झुल्लिएको, पोलहरुमा रहेको तारहरु व्यवस्थित गर्न निर्देशन दिएको छ।
अव्यवस्थित रुपमा गुजुल्टिएको कारण शहरको शोभा कुरुप हुनुका साथै कतिपय अवस्थामा सोही कारणबाट आगलागीका घटना तथा सवारी दुर्घटना भई धन जनको क्षति भएको पाइएकोले यस्ता घटना दुर्घटना न्युनिकरण गर्नको लागि तारहरु व्यवस्थित गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिएका छन् ।
उक्त अव्यवस्थित तारहरु ३५ दिन भित्र तोकिएको मापदण्ड बमोजिम तार व्यवस्थापन गर्न निर्देशित सूचना प्रकाशित गरिएको छ ।अन्यथा नियमानुसार कारवाही हुने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।






