
२१ चैत्र,
बाँके । गृहमन्त्रालयको निर्देशनपछि बाँकेमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ढुवानी गर्ने विरुद्ध प्रहरीको कारबाही थप कडा बनेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी चक्र बहादुर डमरपालको नेतृत्वमा प्रहरीले लगातार निगरानी र एक्सन बढाएको हो।
शनिबार बैजनाथ गाउँपालिका–२ क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ तथा माटो उत्खनन् गरी ढुवानी गरिरहेका ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि बैजनाथ गाउँपालिकामा बुझाइएकोमा गाउँपालिकाले ९ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
यसअघि पनि डीएसपी डमरपालकै निर्देशनमा प्रहरीले विभिन्न मितिमा अवैध उत्खनन् विरुद्ध कारबाही गर्दै आएको छ। चैत १५ गते बैजनाथ गाउँपालिका–६ लालपुरबाट १ टिप्पर र २ ट्र्याक्टर नियन्त्रणमा लिई ११ हजार रुपैयाँ जरिवाना गरिएको थियो।
त्यसैगरी, चैत ११ गते राप्तीसोनारी गाउँपालिका–२ बाट अवैध उत्खनन् तथा ढुवानीमा संलग्न एक टिप्पर नियन्त्रणमा लिई ३० हजार रुपैयाँ जरिवाना गरिएको थियो।
चैत ९ र १० गते कोहलपुर नगरपालिकाका विभिन्न स्थानबाट JCB १, टिप्पर २ र ट्र्याक्टर १ गरी ४ वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। त्यस्तै, चैत ४ गते बैजनाथ गाउँपालिका–२ मकैबारीस्थित मानखोलाबाट JCB १, टिप्पर २ र ट्र्याक्टर १ सहित ४ वटा सवारी साधन नियन्त्रणमा लिइएको थियो।
‘द काउन्सिल अफ जेनजेड लुम्बिनी’ नामक संस्थाले गृहमन्त्रीलाई निवेदन दिएपछि गृहमन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालय तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अवैध क्रसर उद्योगहरू विरुद्ध कडा कारबाही गर्न निर्देशन दिएको थियो ।
उक्त संस्थाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन भइरहेको भन्दै बंद गराउन माग गरेको थियो ।









