
२७ फागुन,
बाँके । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनाव प्रचारका क्रममा जम्मा ४० हजार ७४० रुपैयाँ मात्र खर्च गरेका छन्।
उनले पेस गरेको खर्च विवरणमा पेट्रोल, खाजा तथा पेय पदार्थमा भएको खर्च समावेश छ। विवरणअनुसार डा. राईले ५० लिटर पेट्रोल, १० प्लेट चिकेन चाउमिन, १२ प्लेट पोर्क झोल मःम, २० प्लेट चिकेन स्टिम मःम र ६ प्लेट पोर्क बारबिक्यूमा खर्च गरेका छन्। त्यस्तै पेय पदार्थतर्फ ५ बोतल कोक, १५ बोतल ‘एक्सट्रिम’, १० बोतल बदाम जुस र १० बोतल पानी खरिद गरिएको उल्लेख छ।
यसका अतिरिक्त उनले १०० छाक सादा खानाका लागि १५ हजार रुपैयाँ र ५० लिटर पेट्रोलका लागि ८ हजार २५० रुपैयाँ खर्च भएको जानकारी दिएका छन्।
३९ वर्षीय डा. राईले उक्त निर्वाचनमा जम्मा १७ मत प्राप्त गरेका थिए। सोही क्षेत्रबाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ भने ३५ हजार ७४१ मतसहित विजयी भएका छन्।
डा. राईले आफूले भड्किलो प्रचारप्रसार नगरेको बताउँदै त्यसबाट बचत भएको रकम युवा रोजगारी सिर्जनामा लगाउने घोषणा गरेका छन्। निर्वाचन आयोगमा पेस गरेको फारमको नोटमा उनले अनावश्यक भौतिक प्रचार सामग्रीमा खर्च नगरी बचत भएको रकम युवालाई रोजगारी दिलाउन प्रयोग गर्ने उल्लेख गरेका छन्।










