
१२ कार्तिक,
बाँके । नेपाली कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने संकल्प गरेको छ ।
शनिबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा कांग्रेसले उक्त घोषणा गरेको हो ।
कांग्रेसले स्यानिटरी प्याड आवश्यक पर्ने सबै महिलालाई निःशुल्क उपलब्ध गराउने भनेको छ । ‘सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने छ,’ कांग्रेसको घोषणापत्रमा लेखिएको छ ।
कांग्रेसले घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने लक्ष्य लिएको छ । सबैलाई स्वास्थ्य बीमा र सबल स्वास्थ्य प्रणाली स्थापना गर्ने कांग्रेसले प्रतिबद्धता जनाएको छ ।
३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार, ५ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा र बिमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता, बीमा रकमको दायरा बढाई १० लाख पुर्याइने, ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बीमा, एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड अनुरूप पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका २६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ-नगरपालिकामा विशेषज्ञ चिकित्सक सहितको प्राथमिक अस्पताल, सबै उपमहानगरपालिका र महानगरपालिकामा विशेषज्ञ सेवाहरू सहितको अस्पताल संचालन गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।
पाँच वर्षभित्र हरेक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विशिष्टीकृत अस्पताल (बालरोग, सरुवा रोग, मुटु, क्यान्सर, प्रसुति, मुख्य राजमार्गमा ट्रमा सेन्टर आदि) स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गरी संचालन गरिने पनि कांग्रेसले घोषणापत्रमा लेखेको छ । त्यसका लागि आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र उपकरणको व्यवस्था गरिने भनिएको छ
कांग्रेसले हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्स संजाल बनाइने छ । एक वर्षभित्र खाली रहेको जनशक्तिको पदपूर्ति र आवश्यक प्राविधिक जनशक्तिका लागि उपयुक्त अनुपातमा दरबन्दी थप गरिने उल्लेख छ ।
शिक्षण अस्पतालहरू मार्फत् दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूका आधारभूत अस्पतालमा विशेषज्ञ सेवाहरू उपलब्ध गराइने र अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वील चेयर, सेतो छडी तथा वैशाखी लगायत आवश्यक भौतिक सामाग्री स्थानीय सरकारमार्फत् घरमा नै उपलब्ध गराइने कांग्रेसले संकल्प गरेको छ ।





