
२६ चैत्र,
बाँके : सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
२०७९ पुस १० गते दुबईबाट ‘फ्लाई दुबई’मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र बहुमूल्य सुन लुकाइएको थियो।
शंकास्पद रहेको भेपमा भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठलगायतका कर्मचारीले सुन भएको थाहा हुँदाहुँदै भौतिक जाँच नगरी अनुकूल समयमा साट्ने योजनासहित राखेका थिए। पछि परीक्षणमा सुन पत्ता लागेपछि उनीहरूले साटेका थिए।
उक्त घटनामा राजनीतिक संलग्नता पनि समेत देखिएको थियो। २०७९ पुस १० गतेदेखि नै पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल (रेशम महरा)ले चिनियाँ नागरिक दावा छिरिङ, निमा गुरुङलगायतसँग मिलेर अस्वाभाविक चलखेल सुरु गरेका अनुसन्धानमा खुलेको थियो।
उनीहरूले भन्सार विभागका प्रमुख प्रशासक अरुण पोखरेललगायतलाई प्रभावमा पारी ती सामान भन्सारबाट निकाल्न पटकपटक भेटघाट र फोन सम्पर्क गरेको अनुसन्धानबाट खुलेको बताइएको छ।

Screenshot









