
२३ चैत्र,
बाँके — नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूलाई हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ। शिक्षा, युवा तथा खेलकुद महाशाखाले अभिभावकहरूमा अनावश्यक आर्थिक बोझ परेको गुनासो आएपछि यस्तो निर्णय गरिएको जनाएको हो।
महाशाखाका अनुसार अब कुनै पनि विद्यालयले लागू गरिएको पाठ्यपुस्तक कम्तीमा तीन वर्षसम्म परिवर्तन गर्न पाउने छैन। तीन वर्षपछि पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने अवस्थामा भने नगरपालिकाको पूर्व स्वीकृति लिन अनिवार्य गरिएको छ।
महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले नगर प्रमुखको निर्देशनअनुसार यो निर्णय कार्यान्वयनमा ल्याइएको जानकारी दिए।
नगरपालिकाले पूर्व अनुमति बिना पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा सम्बन्धित विद्यालयलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।










