
२० चैत्र,
बाँके : भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्जले कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।
कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी र गुनासो रहित बनाउन अनाधिकृत व्यक्ति (बिचौलिया)को प्रवेश निषेध गर्ने निर्णय गर्दै अबदेखि परिचय खुल्ने कागजात हेरेर मात्र कार्यालयभित्र प्रवेश दिने व्यवस्था लागू गरेको जनाएको छ।
कार्यालयका अनुसार सेवा लिन आउने कानुन व्यवसायी तथा लेखापढी व्यवसायीले अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा राख्नुपर्नेछ। अन्य सेवाग्राहीहरूले पनि प्रवेशद्वारमै परिचय खुल्ने कागजात देखाउनुका साथै काम खुल्ने निवेदन वा आवश्यक कागजात पेश गरेपछि मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ।
यस्तै, कार्यालयले आधिकारिक कर्मचारी बाहेक अन्य व्यक्तिले विभिन्न शाखा तथा फाँटमा प्रवेश गरी कामकाजमा बाधा पुर्याउने गतिविधि नगर्न समेत आग्रह गरेको छ।
प्रमुख मालपोत अधिकृत सविन सिंह चौधरीले उक्त व्यवस्था कडाइका साथ लागू गरिने जानकारी दिएका छन्।









