
१७ चैत्र,
बाँके — इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी चक्रबहादुर डमरपाल अवैध नदिजन्य पदार्थ उत्खनन् विरुद्ध कडा रूपमा प्रस्तुत भएका छन्। पछिल्लो केही दिनयता प्रहरीले विभिन्न स्थानबाट अवैध उत्खनन् तथा ढुवानीमा संलग्न सवारी साधनहरू नियन्त्रणमा लिएर कारवाही अघि बढाएको छ।
२०८२ चैत १५ गते बैजनाथ गाउँपालिका–६ लालपुरबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् गरी ढुवानी गरिरहेका १ टिप्पर र २ ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त सवारी साधनलाई आवश्यक कारवाहीका लागि गाउँपालिकामा बुझाइएकोमा ११ हजार रुपैयाँ जरिवाना गरिएको छ।

यसअघि, चैत ११ गते राप्तीसोनारी गाउँपालिका–२ बाट अवैध उत्खनन् तथा ढुवानीमा संलग्न एक टिप्पर नियन्त्रणमा लिई ३० हजार रुपैयाँ जरिवाना गरिएको थियो।
त्यस्तै, चैत ९ र १० गते कोहलपुर नगरपालिकाका विभिन्न स्थानबाट JCB १, टिप्पर २ र ट्र्याक्टर १ गरी जम्मा ४ वटा सवारी साधन नियन्त्रणमा लिई नगरपालिका कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यसैगरी, चैत ४ गते बैजनाथ गाउँपालिका–२ मकैबारीस्थित मानखोलाबाट अवैध उत्खनन् गरिरहेको अवस्थामा JCB १, टिप्पर २ र ट्र्याक्टर १ सहित ४ वटा सवारी साधन नियन्त्रणमा लिइएको थियो।

प्रहरीले अवैध उत्खनन् नियन्त्रणका लागि निरन्तर अनुगमन तथा कारवाहीलाई थप कडाइ गर्ने जनाएको छ।









