
८ चैत्र,
काठमाडौँ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ पार्टीमध्ये चारवटाले मात्र प्रमुख सचेतकको सुविधा पाउने भएका छन्। प्रमुख सचेतकको सुविधाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी भने वञ्चित हुने भएको छ।
संघीय संसद्का ऐन २०७३ अनुसार १० जनाभन्दा कम सदस्य भएको दलले प्रमुख सचेतकको सुविधा नपाउने प्रावधानअनुसार राप्रपा र श्रम संस्कृति यसबाट वञ्चित हुने भएका हुन्। यसको परिभाषा खण्डमा भनिएको छ- ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दश जनाभन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ।’
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२, कांग्रेसका ३८, एमालेका २५ र नेकपाका १७ जना सांसद रहेका छन्। यी चार पार्टीले प्रमुख सचेतकको सुविधा पाउनेछन्।
प्रतिनिधिसभामा राष्ट्रिय दल बने पनि १० जना सांसद नभएका कारण राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका हुन्। प्रतिनिधिसभामा श्रम संस्कृतिका सात र राप्रपाका पाँचजना मात्र सांसद छन्।
दलको प्रमुख सचेतकका लागि छुट्टै कार्यालयसुविधा हुन्छ। प्रमुख सचेतकले सवारीसाधन र सवारीचालक सुविधा पनि पाउँछन्। अतिथि सत्कार खर्चबापत मासिक १५ हजार रुपैयाँ पाउँछन्।









